अनलाईन न्युजपाटी,बैतडी,समाचारदाता,भदौ १२गते ।
बैतडीको पाटन नगरपालिका वडा नं ९ ले ‘नागरिकसँग जनप्रतिनिधि भेटघाट बहस तथा समीक्षा कार्यक्रम’ सुरु गरेको छ । वडा पालिकामार्फत दुई आर्थिक वर्ष सम्पन्न भइसक्दा भएका विकास निर्माणको बारेमा छलफल तथा बहस गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।
बिहिबार बसेको आर्थिक वर्ष २०७६÷७७ को तेस्रो बैठकले वडावासीको माग र आवश्यकताका आधारमा कार्य सम्पादन भए नभएको जानकारी लिने गरी साप्ताहिक रुपमा समीक्षा तथा बहस कार्यक्रम लागू गरेको वडा अध्यक्ष लोकबहादुर भण्डारीले अनलाईन न्युजपाटीलाई बताए ।
उहाका अनुसार प्रत्येक हप्ता वडा पालिका समितिका पदाधिकारी (वडा अध्यक्ष एवम सदस्यहरु) सर्वसाधारणको घरमा बास बस्ने छन् । यस वडावासीको आर्थिक, समाजिक तथा भौतिक समस्याको बारेमा जनकारी प्राप्त गरी समृद्ध वडा बनाउन आवश्यक रहेकोले कार्यक्रमले सहयोग पुग्ने जनप्रतिनिधिको विश्वास छ ।
यस कार्यक्रमले जनताका आवश्यक सुझाव सल्लाह प्राप्त हुनुका साथै, जनप्रतिनिधिहरुलाई पनि सोही अनुसार कार्यसम्पादन गर्न सहज बताइएको छ ।