अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २९गते।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् । उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए ।नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।