अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता, साउन २९ ।
प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम नै हुने भएको छ । प्रदेश सरकार गठन भएको झन्डै डेढ वर्षपछि प्रदेशको राजधानी जनकपुरधाम नै राख्ने विषयमा सबै दलबीच सहमति जुटेको हो ।
हाल अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधाम लाई नै स्थायी राजधानी बनाउनेमा सबै दलबीच सहमति जुटिसकेको र प्रदेशको नामाकरण पनि चाँडै हुने प्रदेश २ का सामाजीक विकासमन्त्री नवलकिशोर साहले बताए ।
उनले यो प्रदेशको राजधानीको विषयमा सहमति जुटीसकेको र कानुनी रुप दिन मात्र बाँकी रहेको जानकारी दिए ।
नेपाली काँग्रेसका सांसद एवं संसदीय दलका उपनेता रामसरोज यादवले पनि प्रदेशको राजधानीका बारेमा लगभग दुई तिहाई सहमति पुगेको बताए । उनले प्रदेशको राजधानी जनकपुर नै राख्नेमा बहुमत जुटेको तर प्रदेशको नामाकरणमा सहमति जुट्न नसकेको बताए । प्रदेशको नामाकरणमा समय लागे पनि राजधानीको विषयमा असोजभित्र नै सहमति गरेर पारित गरिने उनको भनाइ छ । यसअघि प्रदेश सरकारले गत मंसिरमा राजधानी र प्रदेशको नामाकरणका लागि आयोग नै गठन गरेर सुझाव सङ्कलन गरेको थियो । ८ जिल्लाका नागरिकसँग सुझाव सङ्कलन गर्दा प्रदेशको राजधानी वीरगञ्ज र जनकपुरको नाम आएको थियो ।