अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता ,भदौ ६ ।
दुई सातापछि सुरु हुने यू–१९ एसिया कप क्रिकेटमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने लक्ष्यका साथ नेपाली किशोर टोली भोलि श्रीलंका प्रस्थान गर्दैछ ।श्रीलंकामा स्थानीय टोलीसँग केही अभ्यास खेल खेलेपछि नेपालको तयारी पूरा हुनेछ । भारत, पाकिस्तान, श्रीलंकालगायतका टेष्ट नेशनहरुको सहभागिता रहने यो प्रतियोगिता नेपालका लागि आफ्नो क्षमता जाँच्ने महत्वपूर्ण अवसर हो ।सेप्टेम्बर ५ देखि १४ (१९–२८ भदौ) सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् भने नेपाल, कुबेत र यूएई एसोसिएट टिम । नेपाल आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै समूह ‘बी’ मा छ ।वर्षाका बाबजुद तयारी सन्तोषजनक रहेको युवा टोलीका प्रशिक्षक विनोद दास बताउँछन् । भन्छन्, ‘मौसमले जतिसम्म साथ दिएको छ, त्यसको सदुपयोग गरेका छौं । हामीसँग भएको सुविधाको प्रयोग गरेर अभ्यासमा कुनै कसर छोडिएको छैन ।’एसिया कपमा नेपालको कप्तानी अनुभवी ब्याट्सम्यान रोहितकुमार पौडेलले गर्नेछन् । टिममा पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन् । उनीहरुमध्ये धेरैसँग अन्तर्राष्ट्रिय म्याचको अनुभव छ ।सबै खेलाडीले राम्रो अभ्यास गरिरहेको र सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक दास बताउँछन् । नेपालको यू–१९ टिमले पछिल्लो दुई वर्षको अन्तरालमा २९ वटा खेल खेलेको छ ।त्यसमध्ये ६ वटामा हार ब्यहोरेको छ भने बाँकी खेल आफ्नो पोल्टामा पार्न सफल भएको छ । हारेका ६ खेलमध्ये पाँच खेल सबै टेष्ट राष्ट्रसँग थियो । यो पटक भने नेपाल टेष्ट राष्ट्रलाई नै चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।प्रशिक्षक दास भन्छन्, ‘हामी जित्नुपर्ने दबाबकै बीचमा खेल्नेछौं । यदि हामीले आफ्नो स्तरभन्दा माथि उठेर खेल्न सक्यौं भने मात्रै अरु टिमलाई चुनौती दिन सक्नेछौं ।’