नमुना दलित बस्तीको नाममा व्यापक घोटाला, प्रश्न सोध्दा अध्यक्ष कुटिए

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, साउन ११ गते।

सिराहाको धनगढीमाई नगरपालिका–१२ मा निर्माण हुँदै गरेको मुसहर बस्तीको नाममा व्यापक घोटाला भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन । खाली चेकमा उपभोक्ता समितिको हस्ताक्षर गराई पैसा निकालेको भन्दै स्थानीयले आरोप लगाएका छन । उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदा ले घोटाला बारे प्रश्न गर्दा उनी कुटिएका छन ।

वडा १२ स्थित मुसहर वस्तीमा ५० लाखमा कुल आठ वटा घर निर्माण भइरहेका छन् । घर निर्माणका लागि आवश्यक पर्ने सामानको जिम्मेवारी लिने ठेकेदार हरि मैनालीले उपभोक्ता समितिको अध्यक्ष सदालाई पिटेको स्थानीयले आरोप लगाएका छन । के कति पैसा  झिकिएको सोध्न जादा मैनालीले उनलाई निर्घात कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए । छलकपट गरि अध्यक्ष लगायत उपभोक्ता समितिको सदस्यहरू सङ्ग खाली चेकमा हस्ताक्षर गराई सबै पैसा निकालेको सदाको आरोप रहेको छ ।

उपभोक्ता समितिका अध्यक्ष कुटिएपछि स्थानीय मसहर समुदाय नै मैनाली विरुद्ध आन्दोलन गरेका छन । ‘दलित कुट्न पाइँदैन, कमिसनखोरी बन्द गर’ लगायतका नारा लगाई मुसहर समुदायले शनिबार बिरोध प्रदर्शन गरेका छन ।

ठेकेदार मैनालीको अनुसार उनले मुल्यांकन अनुसार रकम निकालेको हो । उनले भने ‘ मैले सामान आपूर्ति गर्ने हिसाबले नियम अनुसार  ४३ लाख ९९ हजार आठ सय ७४ रुपैयाँ निकालेको छु । ‘ ठेकेदार मैनालीले पैसा निकालेको आफै स्विकारे पनि धनगढीमाईका प्रमुख प्रशासकिय अधिकृतले सबै पैसा भुक्तानी नभएको दावी गर्छन ।

गत माघ १६ गते शिलान्यास गरिएको नमुना मुसहर बस्ती जेठ १६ मा सम्पन्न भएको घोषणा गरिएपनी काम अझै धेरै बाकी रहेको मुसहर समुदायको गुनासो रहेको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँमा दुई कोठा, भान्सा, शौचालय, बरण्डासहित जस्ता हालेका आठ घर निर्माण गर्ने उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *