अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ २४ गते
मिथिला क्षेत्रकै पवित्र र कठोर ‘जितिया पर्व’धनुषा, महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा आजदेखि धार्मिक विधि पुर्बक शुरु भएको छ ।
यो जितिया व्रत बस्नु एक दिन अघि आजको दिनमा मैथिलानी महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी यस बर्ष आज राति १०:०० बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि शुक्रबार ५:५० बिहान पश्च्यात खाना खाई व्रत सम्पन्न गर्नेछन् । आजको दिनमा व्रत बस्ने महिलाहरु पवित्र पोखरीहरु गंगा सागर, धनुष सागर लगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् ।
सन्तानको दीर्घ आयु, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक महत्व समेत छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।