अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक ६ गते
आज बडादशैँ पर्वको छैटौँ दिन जनकपुर सहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ ।
पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ । ‘बेलनौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ ।
मधेसमा बडादसैं पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न बेलको को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ- नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ ।
दशहरा (दशैँ) पर्वको छैटौँ दिन यो विधि उत्सवमय वातावरणमा मनाउने मिथिलाको परम्परा छ । यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले बाजागाजा र भीडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछन् । सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भीडभाड नगर्न, नियमित पूजा आराधनाबाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रभरिका लागि घटस्थापनाकै दिन निषेधाज्ञा जारी गरिसकेको छ ।