अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर २९ गते।
जनकपुरमा धुमधामसँग मनाइने सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत रुपमा सुरु भएको छ।
त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा हार्सोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइन्छ।
महोत्सवको पहिलो दिन आज भगवान राम र लक्ष्मणको प्रतिकलाई जनकपुर नगर घुमाएर नगर दर्शन गरिँदै छ ।

दोश्रो दिन भोलि मंग्लबार फूलबारी लीला, तेस्रो दिन बुधबार धनुष यज्ञ, चौथो दिन बिहीबार तीलकोत्सव, पाँचौदिन शुक्रबार मटकोर र छैठो दिन शनिबार रामजानकीको स्वयंवर तथा विवाहको कार्यक्रम रहेको छ भने अन्तिम सातौं दिन आइतबार राम कलेवा गरी सम्पन्न हुने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

यस वर्ष विवाहपञ्चमी महोत्सवको मुख्य दिन पुस ४ गते परेको छ। त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा ऐतिहासिक विवाह पञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ।
कोरोना महामारीको संक्रमणको कारण यसपटक विवाहपञ्चमी महोत्सवको खासै तयारी देखिएको छैन । यसपटक अयोध्याबाट साधुशन्तको जन्ती समेत नआउने मन्दिरका महन्त रामतपेश्वर दासले बताए । उनका अनुसार प्रशासनको आग्रहमा बढी भिडभाड नगरी विधिवत रुपमा विगतको रामसीताको वैवाहिक कार्यक्रमलाई निरन्तरता दिइ महोत्सव मनाइने छ ।