अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २३ गते।
आफ्नै कार्य कक्षमा पत्रकारलाई कुट्ने व्यक्तिहरुलाई कारबाहीको माग गर्दै धनुषाका पत्रकारहरुले स्थानीय प्रशासनलाई पाँच दिने अल्टिमेटम दिएका छन् । नेपाल पत्रकार महासंघ, धनुषा शाखाले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै पाँच दिनभित्र कारबाही गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष अनिल मिश्रले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई बुझाएको ज्ञापनमा पत्रकारहरुमाथि आक्रमण, हुलहुज्जत र उपकरण लुट्नेहरुलाई कानून बमोजिम कारबाही गर्नुपर्ने, कुटपिटबाट घाइते भएका पत्रकारको उपचार खर्च र उपकरणमा भएको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, जानकी मन्दिरको फुलबारी अतिक्रणमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने माग गरेका छन् ।मागहरु पाँच दिनभित्र माग पूरा गर्न भनिएको छ । अन्यथा बाध्य भएर चरणवद्ध आन्दोलनमा जानेछौं’ ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।
केहि दिन यता देखि चली आएको जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मंगलबार मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन गएका पत्रकारहरुमाथि मेयरका समर्थकहरुले आक्रमण गरेका थिए । कुटपिटबाट पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण, सुमित मिश्र, राजा झासहितका घाइते भएका थिए । यता उपमहानगरपालिकाले पत्रकारहरुले नै कुटपिट गरेको र आफ्ना दुई जना सदस्यसहित चार जना महिला घाइते भएको जनाएको छ ।
कुटपिटबाट कार्यपालिका सदस्यद्वय पुष्पा यादव र सुनीता मेस्तरनी तथा उपमहानगरपालिका कार्यालयका कार्यालय सहयोगी मिना देवी र सेवाग्राही प्रमिला मण्डल घाइते भएकाले क्षतिपूर्ति दिलाउन नगरपालिकाका कर्मचारीले पनि स्थानीय प्रशासनमा ज्ञापन बुझाउँदै नगरपालिका कार्यालय अगाडि बुधबार धर्ना समेत दिएका छन् ।