अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ ३ गते।
आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न योजनाको भुक्तानी हालसम्म नदिएको विरोधमा उपभोक्ता समितिका पदाधिकारीले प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरुको फोटो भएको ब्यानर टाँगेर जुत्ता प्रहार गरेका छन् ।नयाँ आर्थिक वर्षको ६ महिना बित्दासमेत भुक्तानी नपाएको आक्रोसमा उपभोक्ता समितिका पदाधिकारीहरुले जनकपुरधामको जिरोमाइल चोकमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साहको फोटो भएको ब्यानरमा टाँगेर जुत्ता प्रहार गरेका हुन् । त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । प्रहरीले रोशन सिंह राणा, विमलेश ठाकुर, शंकर साह र रोशन ठाकुरलाई पक्राउ गरेको हो ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा राखिएको छ ।गत आर्थिक बर्षमा योजना सम्पन्न भए पनि प्रदेश सरकारले रकम निकासा नगरेपछि आठै जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पुस १५ गते प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री र मन्त्रीहरुविररुद्व नाराबाजीसमेत गरेका थिए ।