अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज २७ गते
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ ।
आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।
दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ ।
धार्मिक ग्रन्थ अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसको वध गरी दुष्ट शक्तिमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडेर नवरात्रमा देवीका विभिन्न स्वरूपको विशेष पूजा गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवीसम्बन्धी विभिन्न स्तोत्र र स्तुतिको पाठ गर्ने प्रचलन छ ।