आन्दोलन गर्नेको खातामा पैसा बाँकी किसानले निराश मात्र पाए, पुनःआन्दोलनको तयारी

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,माघ १६ गते।

सरकारसँग भएको सहमति अनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरी काठमाण्डौं गएर आन्दोलन गर्ने तयारी गरेका छन् ।

जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि विगतका वर्षहरुमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका उखु किसान पौष महिना काठमाण्डौंस्थित माइतीघर पुगेर धर्नामा बसेका थिए । उखु किसान पौषको चिसोमा कठ्यांग्रिएर उखुको भुक्तानि माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट सबै पुरानो बक्यौता भुक्तानि गराउने प्रतिवद्धता जनाएको थियो ।

उद्योगमन्त्री लेखराज भट्ट आफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । सरकारको दिएको मितिमा भुक्तानि पाउने आशमा उखु किसान घर फर्किएका थिए । तर मध्य माघ भइसक्दा समेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानि पाएका छैनन् । आन्दोलन गर्न काठमाण्डौं गएका केही किसानको खातामा उद्योगीले पैसा हाल्दिए पनि अन्य किसानले पैसा पाउन सकेका छैनन् ।

किसानको आन्दोलनपछि अन्नपूर्णले ४२ करोड बक्यौतामध्ये तीन करोड ९० लाख र महालक्ष्मीले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपैयाँ मात्रै भुक्तानि गरेको दाबी गरिएको छ । अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानि गर्न बाँकी छ ।

गदे बाली उखु बेचेको पैसा लिन यसरी पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यताले उखु किसानमा निराश बढ्दै गएको छ । जिल्लाको उत्तरी भेगको इन्दुशंकर चिनी उद्योगले गत वर्षको भुक्तानि गरिसकेकाले उत्तरी भेगका किसानलाई खासै समस्या छैन् । तर दक्षिणी भेगका किसानलाई अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले भुक्तानि नदिँदा व्यवहार धान्नै मुस्किल परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *