अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख १७ गते
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ३७ दिन भएको छ । यो अवधिमा मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगंजका सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया समस्यामा पर्न थालेका छन् ।
अहिले सयौँ कुकुर, गाईलगायतका पशु चौपाया वीरगंजको सडकमा छन् । तर लकडाउन सुरु भए यता यस्ता छाडा कुकुर र गाई भोकै परेका हुन् । होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुकुरहरुले पेट भर्न पाइरहेका थिए । तर, लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् । भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्ने गर्न थालेका छन् ।
वीरगंज महानगरपालिकाले यस्ता कुकुर, र छाडा चौपायालाई लकडाउनको ३७ दिन बितिसक्दा पनि खानेकुरा खुवाउएको छैन । सडकमा छाडिएका कुकुर, तथा पशुचौपायाहरु समस्यामा परेपछि आज वीरगंज युवा समाजले आहारा खुवाएको छ । समाजका अध्यक्ष कमल चौगाईँको नेतृत्वमा वीरगंजको विर्ता, लक्ष्मीनारायण टोल, आदर्शनगर, पानीटंकी लगायतको क्षेत्रका सडकमा भौतारिएका कुकुर, गाई तथा पशुचौपायालाई आहारा खुवाएको हो ।