अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, बैशाख १९ गते
अन्य वर्ष धुमधामका साथ मनाईने जानकी नवमी यस वर्ष सुनसान बनेको छ। आज जानकी नवमी अर्थात् माता जानकीको जन्म दिन सम्झेर मंनाईन्छ । लकडाउनका कारण यहाँ कुनै किसिमको चहलपहल न भई माता जानकीको माइत जनकपुरधाम सुनसान छ ।
गत वर्षहरुमा चार दिनअघि देखि नै जानकी नवमीको चहलपहल देखिने गरेकोमा यस पटक सुनसान छ । जानकी नवमीका दिन जानकी मन्दिरमा हुने जन्म आरतीमा देश विदेश का लाखौंको संख्यामा भक्तजन हरुको सहभागिता हुने गरेपनि यस पटक महन्थ र पूजारी मात्रै सहभागी हुने भएका छन् ।
अनलाईन न्युजपाटीसंग कुरागर्दै जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकी नवमीका दिन बिहान जन्म अभिषेक, मध्यान्ह १२ बजे जन्म आरती, त्यस लगत्तै भजन, कलशमा दीप प्रज्जवलन गर्दै विशेष पूजापाठ गर्ने गरिएको बताए । यी विधिहरुमा अन्य वर्ष लाखौंको सहभागिता हुने गरिएपनि यस पटक मन्दिरका पुजारी मात्रै यो विधिमा सहभागी हुने उनले बताए । उनले यस पटक घरमै जानकीको पूजापाठ गर्न सम्पूर्ण श्रद्वालुसँग आग्रह गरेको बताए ।
जनक जननी माता जानकीको जन्म वैशाख शुक्ल पक्षको नवमी तिथिका दिन मध्यान्हमा भएको मानिदैं आएको छ ।