अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २२ गते।
बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।
गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो ।
उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
यसैबीच सामाजिक विकास निर्देशनालयले गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । थपिएका संक्रमितहरुमध्ये कास्कीका २ जना, लमजुङका १, गोरखाका १ र बाग्लुङका १ जना रहेका छन् ।
नयाँ थपिएका ५ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुगेको छ ।