अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, असार २६ गते।
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।
सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।
बिहीबार रातिको बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । खोलामा पानीको बहाव बढ्दा खोलाको पानी खेतमा आएका छन् । खोला नजिकैको घर जोखिममा परेका छन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।