नेपालमा कोरोनाभाइरसका कारण थप तीनजनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १५ गते

कोरोनाभाइरसको संक्रमणका  कारण नेपालमा  थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

 मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो । 

यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । 

साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *