आज हरितालिका तीज पर्व : महादेवको पूजा आराधना गरी मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ५ गते

हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आराधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *