सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज प्रमुख दिन

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, भदौ १० गते

गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।

सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज मुख्य दिन, गौराष्टमी अर्थात दुर्वाष्टमी मनाइदैछ। पूजनका हिसाबले आज गौरापर्वको अन्तिम र महत्वपूर्ण दिन हो।

हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ।

आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ’सञ्ज्या’ लाई ल्याउने गरिन्छ। ’दूर्बा’ अर्थात् दुबोको पूजा गरिने हुदा दूर्बाष्टमी पनि भनिएको हो।

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ। अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन्। यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *