अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १५ गते
कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।
लक्षणसहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले कात्तिक २१ गते १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
म्याग्दी उद्योग वाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनिकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो ।
बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
औषधिबाहेकका पसल खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ ।
निषेधाज्ञाको अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आवतजावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् ।