अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २२ गते
कोभिड-१९ को बढ्दो सङ्क्रमणका बीचपनि देशदर्शन बससेवा प्रालिले शनिबारबाट पर्यटक बससेवा सुरु गरेको छ ।
देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि सेवा सूचारु गरेको हो ।
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सूचारु गरिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले बताउनु भएको छ ।
काठमाडौं-पोखरा, काठमाडौं-जनकपुर, काठमाडौं-विरगञ्ज, काठमाडौं-लुम्बिनी, काठमाडौं-चितवन, र चितवन-पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पनि गुरागाईंले व्यक्त गर्नुभयो । उहाँले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने पनि बताउनुभयो ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । देशदर्शनले शुभारम्भको एक सातासम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।