अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ७ गते
तस्करी गरेर भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिन प्रहरीले विराटनगर महानगरपालिका–१७ मटेरुवामा आइतबार बिहान हवाई फायर गरेको छ ।
प्रहरीले हवाई फायर गरेर नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिँदै तस्करीको सामान बरामद गरेको छ । प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको छ ।
हवाई फायर गरेर भारतदेखि तस्करी गरि ल्याएको एक बोरा बेल्ट(पेटी) र तस्करीमा संलग्न विराटनगरकी ३३ वर्षिय रविना खातुनलाई प्रहरीले नियन्त्रणमा छ ।
भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर अवस्था तनावपूर्ण बनेको हो । दुई जना सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करको समूहले अवरोध पुर्याएपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । फरार भएकाहरूको पनि प्रहरीले खोजी कार्य तिव्र बनाएको छ ।