गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ९ गते

गत वैशाखमा कोरोना भाइरस संक्रमणका कारण हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।

परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षा समय बढीमा साढे १ घण्टाको हुने जनाइएको छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने भौतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चान हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिने बताए । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *