अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर १० गते
मोरङका दक्षिणवर्ती ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि बन्द विद्यालयमा आगामी १५ मंसिरबाट पठनपाठन सुचारु गर्ने तयारी गरेका हुन् ।
६ वटा नगरप्रमुखहरुको भेलाले संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्ने निर्णय गरेका हुन् । रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका , रङ्गेली नगरपालिका , धनपालथान गाउँपालिका , जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्नेछन् ।
मंगलबार ६ वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखबीच विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
छलफलले प्रत्येक विद्यालयले विद्यार्थी–शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने, थर्मल गनको व्यवस्था पालिकाले गर्ने, विद्यालयले प्रत्येक हप्ता विद्यालय डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्नेछन् ।
विद्यार्थीरशिक्षकलाई कोरोनाको लक्षण देखिए १४ दिनको लागि बिदामा बस्न लगाउने र पीसीआर पछि मात्रै विद्यालय आउन पाउने व्यवस्था गरिएको छ । नेपाल सरकार ले पाठ्यक्रम विकास केन्द्र द्धारा जारी गरिएको समायोजित पाठयक्रमलाई नै लागु गरी पठनपाठन सञ्चालन गरिनेछ ।