कमला नदीमा आज बिहानैदेखि भूतमेला

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर १५ गते

कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो । 

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै भिडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् ।

कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन  छ ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *