अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २० गते।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार बसेको नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंसिर २९ गते देशभरका ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
तनहुँ जिल्लामा बुधबार सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात, सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनताविरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।
यस्तै कांग्रेसले अविलम्ब संसद बैठक बोलाउन पनि सरकारसँग माग गरेको छ । राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको कांग्रेसको भनाइ छ ।
बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेको भन्दै कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको स्पष्ट पारेको छ ।