अनलाईन न्युजपाटी गुल्मी,समाचारदाता,पुस ४ गते।
गुल्मीमा गएराति अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुल्मीको गैडाकोटबाट पाल्पाको तम्घासतर्फ गइरहेको लु १ ह २७४३ नम्बरको अटो दुर्घटनाग्रस्त भएको हो । अटो अनियन्त्रित भएर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा रेसुंगा नगरपालिका वडा नं. १२ का ३० वर्षीय चालक तेजबहादुर राना रहेका छन् । गम्भीर घाइते भएका रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।
अटोमा सवार रेसुंगा नगरपालिका- १२ का २७ वर्षीय रमेश खत्री, रेसुंगा- २ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल बिक घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूमध्ये गम्भीर घाइते रहेका सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जनाइएको छ ।