अनलाईन न्युजपाटी,झापा,समाचारदाता, पौष २६ गते।
भारतबाट लागु औषध नेपाल भित्र्याउने दुई युवक पक्राउ परेका छन्। भारतबाट अफिम नेपाल भित्र्याउने क्रममा झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय राजकुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अनलाईन न्युजपाटीलाई जानकारी दिए। दाहाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो। मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा नाकाबाट पक्राउ परेका दाहालको साथबाट साढे एक किलो अफिम बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, भद्रपुर नगरपालिका–१० स्थित रजतचोकबाट लागुऔषध ट्याबलेटसहित बिर्तामोड नगरपालिका–६ का २८ वर्षीय पदमबहादुर तामाङ पक्राउ परेका छन्। उनको साथबाट ६० एम्पुल डाइजापाम, ६० एम्पुल फिनारगन र ६० एम्पुल लुपिजेसिक बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।