अनलाईन न्युजपाटी,झापा,समाचारदादाता,माघ २५ गते।
पशुपतिनगर नाकाबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिणामको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान झापा ल्याउन लागेको अवस्थामा प्रहरीले छापा मारेर बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा खटिएका टोलीले शुक्रबार बेलुका ५ बजे ५० मिनेटमा इलामको सूर्योदय नगरपालिका ४ स्थित सुवास गुरुङको खाली घरमा छापा मारेर १७ पोका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरेको हो। गुरुङको खाली घरमा भन्सार छलेर ल्याएको सामान भण्डारण गरी राखिएको अवस्थामा करिब १४ लाख ८९ हजार मूल्य बराबरको सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक राईले जानकारी दिए। बरामद गरिएका सामान १४०० पिस लेगिज, ८२४ मिटर सर्टको कपडा, १३८१ मिटर थान कपडा, ३८४ मिटर थानको सुट कपडा, तन्ना, ब्रा, सल रुमाल, होल्डर, बत्ती बोर्डलगायत रहेको छ। प्रहरीले बरामद गरेको सामानको पोकामा सिलगुढी–बिर्तामोड र कृष्ण नाम उल्लेख गरिएको छ। कारोबारीले सो सामान भारतको सिलुगढी बजारबाट खरिद गरी मिरिक हुँदै इलामको छब्बिसे नाकाबाट नेपाल भित्र्याएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामानलाई पशुपतिनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले बताए।