अनलाईन न्युजपाटी, जनकपुरधाम,फाल्गुन २४ गते।
होली पर्व आउन दुई दिन मात्र बाँकी रहेको समयमा जनकपुर बजारका माछा मासु व्यापारीहरुको उत्साहमा कमी देखिएको छ। होलीमा एक अर्कालाई रंग लगाउनुका साथै हरेक घरमा माछामासु लगायतका परिकारहरु बनाउने गरिन्छ। तर यसपटक भने कोरोनाको हल्लाले माछामासुको व्यवसाय ठप्प भएको व्यवसायीहरु बताउँछन्।
कोरोना भाइरसको त्रासले व्यापार व्यावसाय नै चौपट्ट भएको जनकपुरधाममा मासुको व्यापार गर्दै आएका सदाम राईन बताउँछन्। यसअघिका वर्षमा भ्याइ–नभ्याइ भएपनि यस पटक पसलनै सुनसान रहेको उनको भनाइ छ।
राईन अरु वर्ष होलीमा ८ देखि ९ क्वीन्टलसम्म खसीको मासु बेच्थे तर यसपटक मुस्किलले दुई क्वीन्टलसम्म मासु बिक्री हुने उनको अनुमान छ।
उनले भने गत वर्ष ९ क्वीन्टल मासुको बिक्री गरेको थिएँ। तर यसपटक २ क्विन्टल बिक्री भए आफूलाई भाग्यमानी ठान्छु। राईनले भने कोरोनाको त्रासले माछामासु व्यवसायमा प्रत्यक्ष रुपमा असर परेको बताए। उनका अनुसार जनकपुरधाममा मात्रै होलीको दिन ३ हजारभन्दा बढी खसीबोका काटिन्थ्यो। तर यसपटक मुस्किलले १ हजार खसी काट्ने तयारी भइरहेको राईनले बताए।