अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ७ गते।
कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । मङ्गलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ । कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले बताउनुभयो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।
हाल कालीमाटी वृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक वृत्त पनि रहेको र उनीहरूको खाने बस्ने एकै स्थानमा रहेको बताइएको छ । त्यहाँ करिब दुई सय प्रहरी कार्यरत रहेको बताइएको छ । उहाँले सङ्क्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोसाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताउनुयभो ।
आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँवरले बताउनुभयो । अहिले कालीमाटी क्षेत्र आसपासको सुरक्षामा अन्य वृत्तहरूबाट प्रहरी परिचाल गरिएको छ ।