अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता, जेठ ९ गते
पतिको दिर्घायुको कामना गर्दै शुक्रबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री पर्व धुमधामका साथ सम्पन्न । मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री (बरसाइत) पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ ।

बट सावित्री पर्व मनाउन आज बिहानैदेखी जनकपुर सहित नेपाल भारतका मिथिलांचल मा बस्ने बिबाहित महिलाहरु वरको रुखमा पुजा गर्न उल्लेख्य संख्यामा महिलाहरुको भिड लाग्ने गर्दथियो । तर यस बर्ष विश्वभरि महामारीको रुप लिएको कोरोनाभाइरसका कारण “बट सावित्री पर्व” खल्लो भएको छ।

यस्तै यस बर्ष लकडाउनको कारण आ-आफ्नै घर-घर मा महिलाहरुले बरको रुख हाँगा ल्याई यो पर्व मनाउँदैछन् भने, कहिँ कहीं सामाजिक दूरीको पालना गर्दै यो पर्व मनाउँदैछन् । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने चलन रहेको छ ।