अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन ९ गते
बितेको दुई दिनमा कोरोनाका कारण स्थानीयको मृत्यु हुन थालेपछि पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइने भएको छ। जिल्लाका सबै राजनीतिक दलका प्रमुख, वीरगन्जमा महानगरपालिका नगर प्रमुख, जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरुको शुक्रबार बसेको सर्वदलीय बैठकले शनिबार बिहान ५ बजेबाट निषेधाज्ञा लगाउने निर्णय गरिएको छ।

बिहीबार जिल्ला संकट व्यवस्थापन केन्द्रको र शुक्रबार सर्वदलीय बैठक बसी वर्तमान परिस्थितिको समीक्षा गर्दै संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अर्को आदेश नभएसम्म अनिश्चित कालका लागि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।
निषेधाज्ञा लगाइएको समयमा आवश्यक काम ,स्वास्थ्य, दुध, विद्युत, खानेपानी, फोहोर मैला व्यवस्थापन, ड्राइपोर्ट, भंसार, इन्धन, बैंक र औषधी एम्बुलेन्स जस्ता सेवाबाहेक अन्य सबै उद्योग, पसल व्यवसाय संचालन बन्द गरिनुपर्ने निर्णयमा उल्लेख गरिएको छ।