अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ६ गते।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको वताउनु भएको छ ।
बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको वताउनु भएको हो ।
उहाँले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर बन्नुभएको उहाँले स्पष्ट पार्नुभयो ।
‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नुपर्यो ।’
प्रधानमन्त्री ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रि रहेर चुनावी तयारी गर्न निर्देशन दिनु भयो । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसले काम गर्यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्यो,जनतालाई बुझाउनु पर्छ।