अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता,फाल्गुन ०९ गते।
१४ बुँदे माग लिएर धनगढीमा आमरण अनसनमा बसेको थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वा्चित सांसद रेसम चौधरी सहित ११ जना कैदीबन्दीहरुको रिहाइ लगाएको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुको आठौँ दिनमा बिहीबार असन तोडेका हुन् ।
उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए । जिल्ला स्थित विभिन्न राजनैतिक दलहरूले माग पुरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि उनले अनसन तोडेका हुन् । टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायधिश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अन्य मागहरू राजनैतिक रूपले पुरा गर्न जिल्लाका क्रियाशील राजनैतिक दलहरू एक भएपछि अनसन तोडेको थरुहट थारुवान् राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्ण कुमार चौधरीले अनलाईन न्युजपाटीलाई बताए ।
उनले आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।