अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार २९ गते
अमेरिकी राज्य फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितहरूको एकैदिनमा अहिलेसम्मकै उच्च १५,२९९ पाइएको छ। त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो।
७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो। यससँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ। फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ।
यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ। चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्। यो विवरणले एप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ। पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन्।
महामारी सुरु भएयता अमेरिकामा १,३४,००० भन्दा बढी मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ। फ्लोरिडाले मे महिनाबाट कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो। जुन त्यहाँको पर्यटन र वृद्धवृद्धाको जनसङ्ख्याका कारण असुरक्षित पाइएको छ।
रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भइरहेको छ। गभर्नरले त्यस्तो निर्णय लिने काम स्थानीय निकायहरूलाई छोडेका थिए। उनले लकडाउन लगाउन रूचि देखाएका थिएनन् र प्रतिबन्धहरू समेत छिट्टै खुकुलो पारेका थिए। पछिल्लो महिनाबाट उनले पुन: केही बारहरूमा प्रतिबन्ध लगाउन थाले पनि त्यसले वृद्धिको क्रम रोकेको थिएन।