टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु , १५० यात्रु घाइते

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,माघ २३ गते।

टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् । आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा दुर्घटना भएको हो । इस्तानबुलस्थित विमानस्थलमा अवतरणका क्रममा पिगासस एयरलाइन्सको जेट विमान धावनमार्गबाट चिप्लिएको हो । विमानमा १७१ यात्री र चालक दलका ६ सदस्य सवार थिए । पिगासस एयरलाइन्सले आधिकारिक स्रोतलाई उद्धृत गर्दै दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । सो एयरलाइन्सले ट्वीट गर्दै यसको जानकारी दिएको हो । टर्किस मिडियाका अनुसार विमानमा सवार अधिकांश टर्कीकै नागरिक छन् । उक्त विमानमा सवार यात्रुमध्ये २० जना विदेशी रहेको बताइएको छ । इस्तानबुलका गभर्नर अली यर्लिकायाका अनुसार दुर्भाग्यवस उक्त विमानले रनवे छाड्यो र चिप्लिएर ५० देखि ६० मिटर पर पुग्यो । उनले प्रतिकुल मौसमका कारण उक्त दुर्घटना भएको बताए ।धावनमार्गबाट चिप्लिएको विमान तीन टुक्रामा विभाजित भएको छ । उक्त विमान प्रतिकुल मौसमका बाबजुद अवतरण गरिरहेको समयमा उक्त दुर्घटना भएको अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार हुरीसहित भारी वर्षा भइरहेको समयमा विमान अवतरण गर्दै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *