अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, बैशाख ०१ गते।
चीनमा कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो। ती सबै मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ। फर्किएका नागरिकहरू आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्। भाइरस सुरुमा देखापरेको हुबे प्रान्तमा नयाँ सङ्क्रमितको सङ्ख्या एकदमै कम रहेको छ तर त्यहाँ थप दुईजनाको मृत्यु भएको छ।
साङ्घाइमा नयाँ सङ्क्रमितको सङ्ख्या कम रहे पनि बढ्न थालेको सङ्केत भने राम्रो समाचार नभएको जनाएका छन्। अहिलेसम्म विश्वभर १८ लाख मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। चीनभर अहिलेसम्म ८३,१३५ जना सङ्क्रमित छन् भने सबैभन्दा बढी मानिस सङ्क्रमित रहेको अमेरिकामा त्यो सङ्ख्या पाँच लाख ५७ हजार नाघिसकेको छ।
अमेरिकामा कोरोनाभाइरसका कारण २२ हजार मानिसको मृत्यु भइसकेको छ। उता कोरोनाभाइरसका कारण धेरै सङ्क्रमित रहेका युरोपेली मुलुकहरूमा दैनिक मृत्यु हुनेमा सुधार देखिएपछि ती देशमा लकडाउनलाई केही खुकुलो पार्न थालिएको छ। इटलीमा तीन हप्ता यता सबैभन्दा कम अर्थात् ४३० जनाको मृत्यु भएको छ।