अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २५ गते
भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको भारतीय समाचार माध्यम ले जनाएको छ। सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ। प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ। दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन्।
स्थानीय समय अनुसार बिहान ३ बजे एक पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो। ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ। यो ग्यास सामान्यत: रेफ्रिजरेटरमा राख्ने गरिन्छ। कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्।
ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए। ग्यासको मुश्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको छ भने अधिकारीहरूले प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लान थालेका छन्। मानिसहरूलाई भिजेको कपडाले आफ्नो अनुहार छोपेर आफूलाई सुरक्षित पार्न भनेका छन्।भारतमा पटक पटक यस किसिमका ग्यास चुहावटका दुर्घटना हुने गरेको इतिहास छ।
सन् १९८४ मा भोपालमा भएको रासायनिक पदार्थ चुहावटका कारण हजारौँ मानिसको ज्यान गएको थियो। त्यसलाई संसारकै ठूलो औद्योगिक दुर्घटना भन्ने गरिएको छ। दुर्घटना भएको ३५ वर्षपछि पनि त्यहाँ अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन्।