प्रहरी अधिकारी द्धारा जर्ज फ्लोइड घाँटी थिची मृत्युको विरोधमा अमेरिकाभर प्रदर्शनमा झडप

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ १७ गते

अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको छ। अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा गरिरहेका छन। सयौँ मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन्। मिनेसोटा, न्यू योर्क, एटलान्टा र अरू क्षेत्रमा हिंसात्मक प्रदर्शन भएका छन्।

 हिरासतको क्रममा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका एकजना पूर्व प्रहरी अधिकारीलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ।

गोरा जातिका डेरेक चौविनले ४६ वर्षीय काला जातिका फ्लोइडको घाँटी थिचेको फूटेज सार्वजनिक भएको थियो। चौविन र थप तीनजना प्रहरीहरूलाई उक्त काण्डका कारण यस अघि नै सेवाबाट बर्खास्त गरिएको थियो।

चौविनलाई सोमवार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनालाई ‘भयानक, भयानक’ भन्दै आफूले फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका छन्। मिनेसोटामा स्थिति गम्भीर छ। मिनियापोलिस र सेन्ट पल शहरमा शुक्रवार र शनिवार बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ।

प्रदर्शनकारी हरुले शुक्रवार कर्फ्यु तोडेका छन्। कैयौँ ठाउँमा कारका टायर बालिएका छन्। कैयौँ ठाउँमा अग्नि नियन्त्रकहरू पुग्न सकिरहेका छैनन्। पेन्टागनले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयार अवस्थामा राखेको छ। शनिवार साँझ वाशिङटनमा ह्वाइटहाउस नजिकै फ्लोइडका तस्बिर बोकेको भिडले फ्लोइडले भनेका अन्तिम वाक्य ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्ने नारा लगाएको थियो।

त्यसपछि ह्वाइटहाउसमा अस्थायी लकडाउन गरिएको थियो। एटलान्टाका कैयौँ क्षेत्रमा मानिस र सम्पत्ति जोगाउनका लागि भन्दै सङ्कटकाल घोषणा गरिएको छ। समाचार प्रसारक संस्था सीएनएनको कार्यालय नजिक प्रदर्शनकारीहरू जम्मा हुँदा भवनहरूमा क्षति पुर्‍याइएको थियो र एउटा प्रहरी कारमा आगो लगाइएको थियो।

न्यू योर्कको ब्रूकलीनमा प्रदर्शनकारीहरू र प्रहरीको झडप भएको थियो। त्यहाँ कैयौँ प्रहरीहरू घाइते भएका थिए र कैयौँलाई गिरफ्तार गरिएको थियो। चौविनलाई तेस्रो तहको हत्या अभियोग लगाइएको छ तर फ्लोइडको परिवारले प्रथम तहको अभियोगको माग गरेको छ। फ्लोइडको पोस्ट मोर्टम रिपोर्टमा फ्लोइडमा मुटु समस्या रहेको र प्रहरी अधिकारीहरूको थिचाइले ‘उनको मृत्यु हुनमा सहयोग पुगेको’ बताइएको छ।

रिपोर्टमा चौविनले फ्लोइडको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेको भनिएको छ। फ्लोइडले प्रतिक्रिया नजनाएको तीन मिनेट पछिसम्म पनि थिचिरहेको पनि रिपोर्टमा उल्लेख छ। पछि हेनेपिन मेडिकल सेन्टर पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *