अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २७ गते
अमेरिकी नागरिक जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी डेरेक शोभिनलाई पहिलो पटक अदालतमा उपस्थित भएका छन्।
अदालतले डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ। डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीमाथि हत्यामा सघाएको आरोप लगाइएको छ। मे महिनामा भएको फ्लोइडको मृत्युको घटनाले विश्वव्यापी प्रदर्शनहरू निम्त्याएको छ।

पूर्वप्रहरी अधिकारी शोभिनले मिनिअपलिसमा मे २५ तारिखमा फ्लोइडको घाटि माथि करिब नौ मिनेटसम्म टेकेका थिए। त्यसपछि उनी र बाँकी तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन्।
टेलिकन्फरेन्समार्फत् सोमवार अदालतमा उपस्थित भएका शोभिनले कुनै प्रकारको आग्रह गरेनन्।१५ मिनेट लामो सुनुवाइका क्रममा उनले केही भनेनन्। हातमा हतकडी लगाइएको अवस्थामा उनी सानो टेबुलमा बसिरहेका थिए।
शोभिनका वकिलले धरौटी बापत माग गरिएको रकमलाई लिएर कुनै आपत्ति जनाएनन्।
कैयौँ पटक कारागारको स्थान परिवर्तन गरिएको ४४ वर्षीय शोभिन हाल ओआक पार्क हाइट्सस्थित एक कारागारमा राखिएका छन्। अर्को पटक जुन २९ तारिखमा उनलाई अदालतमा उपस्थित गराइनेछ।