अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार २ गते
चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ।
कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी नया घटना देखिएका छन्। पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको छ।
केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड- १९ बाट सङ्क्रमित भएको फेला परेका थिए। उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ।
खेल र मनोरञ्जनका लागि प्रयोग गरिने इन्डोर भेन्यू अर्थात् खुला नभएका स्थलहरूको सञ्चालनमा रोक लगाइएको छ। विद्यालयहरू पनि बन्द गरिएको छ। राजधानी बेइजिङमा सङ्क्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ४,६३८ जना र संसारभरि गरी ४ लाख ६६ हजारभन्दा बढी मानिसले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्।