अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत ७ गते।
१५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ ।
महोत्तरीको धु्रवकुण्डमा रात्रि विश्राम बसेर मिथिला बिहारी र किशोरीजीको डोलासहित परिक्रमा यात्री शनिबार बिहान कंचनवनको लागि प्रस्थान गरेका थिए । १५ दिवसीय परिक्रमाको महत्वपूर्ण विश्रामस्थल मध्ये एक हो कंचनवन । कंचनवनमा साधुसन्तहरुले एकअर्कामा रंग अबिर दलेर होलीको सुरुवात गर्ने गरेका छन् । कंचनवनमा परिक्रमा यात्रीले घरको खाना खाने गर्छन् । घरमा खानेकुरा पकाएर आफन्तको लागि लिएर कंचनवन जाने गरेको छ ।
कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए ।
तिर्थालुहरुलाई संघीय तथा प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गर्ने बताइएको छ ।
तिर्थालुहरुलाई रंग, अविर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख साहले बताए । त्रेतायुगमा सीता र भगवान रामले रंग खेलि होली मनाएको धार्मिक विश्वास छ ।
यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होलीको शुभारम्भ गर्ने धार्मिक एवम् पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताए ।
तिर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचालाई सरसफाई गरी चिटिक्क पारिएको छ ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।