अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,साउन २५ गते।
बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा रौतहटको चन्द्रपुरमा एक जनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको नुनथरबाट बागमती आउने क्रममा बिहान करिब ४ बजे ना ५ च ३१६६ नम्बरको भ्यान सडकबाट करिब २५ मिटर तल नहरमा खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटना परेर बाराको गढीमाई नगरपालिका वडा नम्बर १ कि ४५ वर्षीया मिनादेवी कोइरीको मृत्यु भएको छ । एकजना भने अझै नहरमा बगेर बेपत्ता भएको उनका साथीहरुले बताएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले जानकारी दिनुभयो ।
वेपता हुनेमा ६५ वर्षीया सुन्दरीदेवी मुखिया रहेकी छन् । उनको नहरमा पानी बन्द गरेर प्रहरीले खोजी कार्य गरिरहेको माझीले जानकारी दिनुभयो ।
पिकअप भ्यानमा सवार अन्य भने सामान्य घाइते भएका सो कार्यालयले जनाएको छ । बोलबम यात्रीहरू नुनथरमा अवस्थित बागमती नदीबाट जल लिएर विभिन्न शिवालयहरुमा चढाउने गरेका छन् ।