महोत्तरीको भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ १५ गते।

महोत्तरीको मुख्य भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ।

कोभिड-१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ।

गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्षको नेतृत्वमा करिब सय जनाले सीमा नाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्षले बताए।

सो नाकाबाट मालबाहक ट्रक, टिपरलगायत साधन बन्दाबन्दीको बेला पनि निर्वाध रूपमा आवातजावत गरेका थिए। तर पैदल यात्रुलाई भने रोकिएको थियो।

भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल-भारत आउजाउ गरिरहेका थिए।

मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन्। सो नाकाबाट पैदल आवागमन सुरू भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन। मालबाहक गाडीहरू पहिलेझैं आउजाउ गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *