अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १२ गते।
नेपाल टेलिकमको बीटीएस साइटबाट विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा चारजनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।
सिसिटिभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिहरुको हुलिया लिएर खोज तलास गर्ने क्रममा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा सिराहाको लहान नगरपालिका-१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, वडा नम्वर ३ ढगराहाका ३५ वर्षीय सूर्य नारायण महतो, ३५ वर्षीय पवन जयसवाल र सिराहाकै गोलबजार नगरपालिका-४ का ४१ वर्षीय दिपक अग्रवाल छन् ।
पक्राउ परेकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय राजविराजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनीहरुविरुद्व जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले बताए ।