अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १ गते।
काठमाडौंको माइतीघर मण्डलामा आज शनिबार पनि बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका थिए ।
पद्मकन्या क्याम्पसबाट माइतीघरसम्म मार्चपास समेत उनीहरुले त्यहाँ केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए ।
सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।