अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ९ गते।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाका स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ।
भारतमा कोरोना भाइरस संक्रमण बढेपछि स्वास्थ्य सुरक्षाका लागि सबै स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउन गृह मन्त्रालयमार्फत निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले नेपाल–भारत स्थल सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ।
प्रवक्ता गौतमका अनुसार भारतमा बढ्दै गएको कोरोना संक्रमणका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा नाकाका हेल्थ डेस्क सक्रिय बनाउन निर्देशन दिइएको हो।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा सतर्कताका लागि सभा, जुलस, भेला, र्याली, बैठक तथा जमघटमा रोक लगाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस र भीडभाड नगर्न आइतबार नै आग्रह गरेको छ ।