कोरोना भाइरसको जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १२ गते।

शिक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो । शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ । विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भिडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले सचेत गराएको छ । 

केही दिनयता कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *