अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १९ गते।
सर्लाहीमा चैत ११ गते टाउको काटिएको अवस्थामा मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो । दुबैजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु नै हत्यामा संलग्न भएको देखिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सुशीलको हत्या हुनु केही दिनअघि विमलकान्तको पानी तान्ने मोटर र जुत्ता चोरी भएको थियो । विमलकान्तले यी सामान सुशीलले नै चोरेको आरोप लगाउँदै आएका थिए ।
यो विषयमा उनीहरुबीच पटक पटक विवाद भएको थियो । यही कारण विमलकान्तले सुशीललाई मार्ने योजना बनाएको देखिएको सर्लाहीका प्रहरी प्रवक्ता कुँवरले बताए ।
योजनाअनुसार अशोकले सुशीललाई मामाले बोलाएको भनी विमलको घर लगेका थिए । प्रहरीका अनुसार उनीहरुले विमलको घरमा लागू औषध सेवन गरेका थिए ।
खाना खाएर परिवारका सदस्य सुतेपछि तीनै जनाले लागू औषध सेवन गरेको र त्यस क्रममा सुशीललाई अत्यधिक प्रयोग गर्न लगाएर लठ्ठ पारेको पाइएको प्रहरीको भनाइ छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हत्या आरोप लागेका विमलकान्त लागू औषध मुदमा यसअघि पक्राउ परेको र धरौटीमा छुटेको व्यक्ति भएको प्रहरी प्रवक्ता कुँवरले बताए ।